दफा २१
लिलाम बिक्री सम्बन्धी विशेष व्यवस्था
(१) दफा १७ मा जुनसुकै कुरा लेखिएको भए
तापनि कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा परिच्छेद–२ बमोजिम
नियन्त्रणमा लिइएको कुनै सम्पत्ति वा साधन राखिराख्दा खिया लाग्ने, टुटी फुटी वा
सडीगली जाने वा अन्य कुनै कारणले हानि नोक्सानी हुने भएमा विभाग वा सम्बन्धित
जिल्ला प्रशासन कार्यालयले कसूर सम्बन्धी मुद्दा अनुसन्धान तथा तहकिकातको क्रममा
रहेको भए सम्बन्धित सरकारी वकिलको परामर्श लिई र अदालतमा मुद्दा पेश भइसकेको
भए अदालतको अनुमति लिई त्यस्तो सम्पत्ति वा साधन जफत हुनु अगावै लिलाम बिक्री
गर्नु पर्नेछ ।
(२) कसूर सम्बन्धी मुद्दामा दशी प्रमाणको रुपमा अदालत समक्ष पेश भएको कुनै
सम्पत्ति वा साधन त्यसै राखिराख्दा खिया लाग्ने, टुटी फुटी वा सडीगली जाने वा अन्य कुनै
कारणले हानि नोक्सानी हुने देखेमा अदालतले त्यस्तो सम्पत्ति वा साधन लिलाम बिक्री गर्न
आदेश दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको अवस्थामा विभाग वा जिल्ला प्रशासन
कार्यालयले सम्पत्ति वा साधन लिलाम बिक्री गर्दा यसै परिच्छेद बमोजिमको कार्यविधि
अपनाउनु पर्नेछ ।
(४) यस दफा बमोजिम सम्पत्ति वा साधन लिलाम बिक्री गर्दा प्राप्त हुन आएको
रकम सम्बन्धी तथा अन्य तोकिए बमोजिमको विवरण विभाग वा जिल्ला प्रशासन
कार्यालयले सम्बन्धित अदालतलाई लिलाम सकार गरेको सात दिनभित्र दिनु पर्नेछ ।